महन्त वन परिसरमा अवैध रुपले बनाएको भवन महानगरले भत्काइदियो काठमाडौं । काठमाडौं महानगरपालिका– १६ नयाँ बजारको विष्णुमती पुलनजिकैको गुरु नानक मठ (महन्त वन) परिसरको जग्गामा व्यवसायिक प्रयोजनको लागि हेमराज श्रेष्ठले ग्रिल तथा वर्कशप चलाउन भनेर जवर्जस्ती रुपमा भवन बनाएपछि आज महानगरपालिकाले भत्काइदिएको छ ।
आज स्थानीयको सहयोगमा महानगरीय प्रहरीले सो भवन भत्काएको काठमाडौं १६ का वडा सदस्य जीवन मानन्धरले बताए । ‘यो भवन अवैध छ भनेर हामीले भन्दै आएका थियौं, पटक पटकको अन्दोलनपछि आज भवन भत्काइएको छ’ उनले भने ‘हामी यसमा सफल भएका छौं, यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ।’ गुरु नानक सत्सङका उपाध्यक्ष रवि सिंहले नियमविपरीत गएर बनाएको सञ्रचना भत्काइएको बताए । उनले सार्वजनिक सम्पत्तिमाथि श्रेष्ठले आफूखुशी गरेकाले भत्काउनुपरेको जनाएका छन् । उनले सार्वजनिक सम्पत्तिको रक्षा र संरक्षण गर्नु सबैको दायित्व भएकाले आफूहरु त्यो अभियानमा लागेको बताए । भवन भत्काउँदा स्थानीयहरुले खुशीले ताली पड्काउँदै सामान्य नाराबाजी गरेका थिए । स्थानीय तथा जनप्रतिनिधिले केही दिनअघि त्यही ठाउँमा पत्रकार सम्मेलन गरेर भवन थप बनाउन नहुने र बनाइहाले पनि कुनै दिन भत्काइदिने चेतावनी दिएका थिए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट महानगरलाई पठाएको पत्रका आधारमा नगर प्रमुख विद्यासुन्दर शाक्यले आदेश दिएपछि भवन भत्काइएको हो । श्रेष्ठको यो कामले सम्पदा नष्ट भएको र मौलिकता नै मासिने खतरा भएको भन्दै स्थानीयले निर्माणमा अवरोध गरेका थिए । उनीहरुले पटक पटक आग्रह गर्दा पनि श्रेष्ठ र अन्य निकायले नसुनेकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको जनाएका थिए ।
गुठी संस्थानको नाममा रहेको यो जग्गामा श्रेष्ठले चलखेल गरेर लाभ लिन खोजेको उनीहरुको आरोप छ । स्थानीय तथा सरोकारवालाहरुले मठ, मन्दिर, धार्मिकस्थलमा व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गर्दा मठ मन्दिर तथा पुरातात्विक महत्वका स्थल नष्ट र धार्मिक सम्पदामाथि आक्रमण भएको भन्दै भवन निर्माण कार्य बन्द तथा सञ्रचना भत्काउन माग गरेका थिए । मानन्धरले धार्मिक क्षेत्र तथा वन परिसरमा व्यवसायिक भवन निर्माण गर्नु धार्मिक क्षेत्रमाथिको आक्रमण भएको बताए । मन्दिर परिसरमा वर्कसप तथा ग्रिल उद्योग सञ्चाल गर्दा वातावरणीय प्रदुषण हुने र चराचुरुङ्गीको वासस्थानमा समेत प्रभाव पार्ने मानन्धरको भनाई छ । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिका सचिव नविनराज राजभण्डारीले स्थानीयको विरोध भएपछि रातीमात्र भवन बनाउँदै आएको आएको बताए ।
राजभण्डारीले भवन बनाउँदादेखि नै आफूहरुले विरोध गरे पनि सरोकारवाला निकायले चासो नदिँदा प्रक्रिया लम्बिएको बताए । म्हैपी युवा क्लवका सचिव सुमेश न्यौपानले लामो समयसम्मको आन्दोलनले आज सार्थकता पाएको भन्दै खुशी व्यक्त गरे । ‘हामी अझै पनि चुप लागेर बसेका भए यहाँ अझै ठूलो भवन बन्न सक्थ्यो’ न्यौपानेले भने ‘हाम्रो खवरदारीले काम गरेको छ, यो घटनाबाट अरुले पनि जवर्जस्ती नगर्लान् कि भन्ने सन्देश पनि गएको छ ।’ मठ संरक्षण तथा भवन निर्माण कार्य बन्द गर्न माग गर्दै स्थानीयले महानगरपालिको १६ वडा कार्यालय, काठमाडौं महानगरपालिका, गुठी संस्थान, अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलाई पटक पटक ध्यानाकर्षण गराएका थिए ।