काठमाडौं – पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायका अधिकारीहरुले बताएका छन्
आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान भोलि बिहान शतबीज छर्ने गरिन्छ । यसको तयारीका लागि बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको हो ।
आज रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् ।
हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको रातिदेखि सुरु हुने मेलामा भक्तजनको घुइँचो लाग्ने गर्छ । भीड व्यवस्थापन गर्न विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको पशुपति क्षेत्र विकास कोषले बताए ।
आज बिहानदेखि भोलि दिउँसोसम्म मन्दिर प्रवेश गर्ने विभिन्न बाटोमा सबै प्रकारका गाडी प्रवेशलाई रोक लगाइएको कोषले जनाएको छ ।
गौशाला–चारशिवालय, गौशाला–भुवनेश्वरी, जयबागेश्वरी–भुवनेश्वरी, पश्चिम गोल्डेनगेट, गुरुमार्ग ९बि–१३ को मार्ग० र उमाकुण्ड–लक्षिणमूर्तितर्फका बाटोमा गाडी प्रवेश निषेध गरिएको हो । यस्तै नियमित आवागमन हुने गाडीलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाबाट व्यवस्थापन गरिने कोषले जनाएको छ ।
भक्तजनलाई पश्चिम र दक्षिण ढोकाको बाहिर बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । यसैगरी मृगस्थली ९ब्युटिफूल० भित्रको फेन्सिङ्गभित्र प्रवेश गर्ने गेटमा तीन वटै ढोकामा सशस्त्र प्रहरी र कोषको सुरक्षाकर्मी खटाउने, भित्र र बाहिर सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्तीको व्यवस्था गरिएको छ ।
यस्तै बत्ती बाल्न आफू उपस्थित हुन नसक्नेका लागि विगत वर्षमा जस्तै एक हजार रूपैँयाको रसिद काट्ने व्यवस्था कोषले गरेको छ । कोरोना जोखिम कायमै रहेकाले भक्तजनलाई मास्क अनिवार्य गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।
जिल्ला प्रशाशन कार्यलय काठमाठडौंले एक विज्ञप्ति प्रकाशित गरेर बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा तीर्थयात्री र भक्तजनहरुलाई माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण तथा सेवन नगर्न नगराउन आग्रह गरेको हो ।
सूचना विपरितको क्रियाकलाप भए गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेसमेत जिल्ला प्रशासनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
तर, उक्त सूचना र सूचनाको भाषाले भोलि एक दिनबाहेक अरु दिन पशुपतिनाथ परिसरमा त्यस्ता पदार्थ सेवन गर्न पाइने र गरिँदै आएको अर्थ लागेको छ । बालाचतुर्दशीका दिन तीर्थयात्री र भक्तजनहरुले पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसेर बत्ती बाल्छन् ।
भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती बिसर्जन गरी पशुपतिक्षेत्रका मठन्दिर, देवालय, शिवालय, कैलाश पर्वत, मृगस्थली, मृगवाटिकाका महादेवलगायतका स्थानमा सद्बीज छर्ने परम्परा रहिआएको छ ।