काठमाडौं । विहीबार भएको सत्ता गठबन्धनको बैठकमा केही विषयमा सहमति हुन बाँकी भए पनि त्यसपछि भएको अनौपचारिक छलफलमा सहमति भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार ११ बजेभित्र मन्त्री बन्ने नेता तथा सांसदहरुको नाम दिन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्।
उनले आजै दिउँसो ४ बजे सपथग्रहण गराउने गरी मन्त्रिपरिषद् विस्तार गर्दैछन्। त्यसैले बिहान ११ बजेभित्र मन्त्री हुनेहरुको नाम बुझाउन सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई आग्रह गरिएको हो।
प्रधानमन्त्री देउवाको पार्टीभित्र केही विमती रहे पनि अरु दलहरुले अन्तिम नामावली तयार गरिसकेका छन्। माओवादी केन्द्रले मन्त्री बन्ने नेताहरुको नाम नै सार्वजनिक गरिसकेको छ।
अब विस्तार हुने मन्त्रिपरिषद्अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले समान ४–४ मन्त्रालय पाउने छन्। त्यस्तै कांग्रेस २ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीले एकएक राज्यमन्त्रीसमेत पाउने भएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मागिएको थप मन्त्रालय पार्टीको महाधिवेशन सकिएपछि दलहरुलाई नै फिर्ता गर्ने शर्तमा अहिलेलाई आफूलाई बढी मन्त्रालय दिन माग गरेका हुन्। प्रधानमन्त्री देउवालाई पार्टीभित्र सहज बनाउने र महाधिवेशनमार्फत देउवालाई पुनः सभापति जित्न सहयोग पुग्ने गरी कांग्रेसलाई थप मन्त्रालय दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव तयार भएका छन्।
११ बजेपछि बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् विस्तारको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने र राष्ट्रपतिबाट स्वीकृत भएपछि आजै दिउँसो ४ बजे सपथ ग्रहण हुने प्रधानमन्त्रीको निजी निवास बालुवाटार स्रोतले जनाएको छ।