काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताएका छन्।
मन्त्री बस्नेतले आज राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा योजना गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरका अवसरमा यस्तो बताएका हुन् ।
आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना अनुसार काम गरिरहेको दाबी गरे। मन्त्री बस्नेतले भने, ‘आयुर्वेदको विकास र बिस्तार गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ।’
पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्घोषका साथ आफूले काम गरिरहेको बताउँदै मन्त्री बस्नेतले निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिए।
स्वास्थ्य सिविरमा एक हजार ३ सय भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका थिए। कार्यक्रममा बाग्मती प्रदेशका सभासद कृष्णकुमार तामाङ, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ लगायतको उपस्थिति रहेको थियो।