काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन १०औं महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् ।
नेकपा (एमाले) महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतवार भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए ।
जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उहाँले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे।
उनले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएको भन्दै पूर्वमाओवादीका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएको बताए ।
महाधिवेशनले एमालेको नेतृत्वमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान र एमाले जबरजस्त जनताबीचमा छ भन्ने पुष्टि गरेको उनले बताए । नेता भट्टराईले चितवनले एमाले महाधिवेशन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको र त्यसलाई सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यबाद दिए। महाधिवेशनकै कारण चितवनमा आन्तरिक पर्यटनको विकास भएको उनको भनाइ छ ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशनमा पार्टीको योजनाअनुरुप प्रचारप्रसारका गतिविधि भएको बताए । उनले पार्टीले महाधिवेशन लक्षित प्रकाशन गरेको बुलेटिन, भिडियो सामाग्री र सामाजिक सञ्जालको प्रयोग प्रभावकारी बनेको बताए ।