काठमाडौं । एमालेले प्रथम विधान महाधिवेशन आयोजना गरिरहेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र नेपालमा भएको सबैभन्दा ठूलो क्षमताको हल हो । करीव ४३ रोपनी क्षेत्रफलमा फैलिएको यो सम्मेलन केन्द्रको मुख्य हलमा तीन हजार जना अट्ने क्षमता छ । यस केन्द्रको प्रतिदिन भाडा नै पाँछ लाख ६८ हजार छ । असोज १५ देखि १७ सम्म तीन दिनको भाडामा मात्र एमालेले करीा १७ लाख तिरेको छ भने धरौटीबापत पनि करीव ४ लाख बुझाएको छ ।
यस केन्द्रमा मुख्य हलका बाहिरपट्टि रहेको दुई वटा सहायक हल छन् तर, त्यसमा मुख्य हलमा जस्तो कुर्सीको व्यवस्था गरिएको छैन । अहिले एमालेले ती दुई हलमा प्लास्टिकको कुर्सी राखेर महाधिवेशन प्रतिनिधिलाई सम्मेलनमा सहभागी गराएको छ ।
गोदावरीको सनराइज सम्मेलन केन्द्र व्यवस्थापनको जिम्मा पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त हलमा पहिलो र ठूलो कार्यक्रम पनि एमालेले नै आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले सनराइज सम्मेलन केन्द्रको सबै क्षेत्र भाडामा दिँदा एक दिनको भाडा पाँच लाख ६८ हजार रूपैयाँ तोकेको छ । यस हिसाबले एमालेको तीन दिन उक्त सम्मेलन केन्द्र भाडा कुल १७ लाख चार हजार रूपैयाँ तिर्नुपर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका अधिकारीहरूले बताएका छन् ।
हल बुकिङ गर्दा शुरूमा २५ प्रतिशत धरौटी भुक्तानी गर्नुपर्ने र कार्यक्रम शुरू हुनुभन्दा अगाडि हलको सबै भाडा भुक्तानी गर्नुपर्ने कार्यविधि रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका एक अधिकारीले बताए ।


