काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँचदलीय गठबन्धन सरकार अध्यादेश ल्याएर चुनाव रोक्ने प्रयासमा रहेको बताएका छन्।
उनले सोमबार बझाङको चैनपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अहिलेको सरकारले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिरहेको आरोप लगाएका हुन् ।
अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन खोजेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने, ‘म आग्रह गर्न चाहन्छु, त्यस्तो प्रयास नगर्नुस्।’
अध्यक्ष ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताउँदै एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उल्लेख गरे।
भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा आफ्नो सरकार ढाल्न खोजेको समेत ओलीको आरोप छ। उनले जतिसुकै षड्यन्त्र गरे पनि आगामी निर्वाचनमा एमालेलाई कसैले हराउन नसक्ने बताए। ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि बझाङ पुगेका थिए। एमालेको सरकारले गरेका कामबारे सबै जनतालाई याद भएकाले पनि उनीहरुले आफ्नो दललाई मत दिने अध्यक्ष ओलीले दावी गरे ।