काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीविरुद्धका सबै षड्यन्त्र असफल पार्ने बताएका छन् ।
शुक्रबार एमाले रुपन्देहीको ९औँ जिल्ला अधिवशेनलाई भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेलाई एक्ल्याउने र कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसलाई सफल हुन नदिने बताएका हुन् ।
‘एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको छ । तर, हामीविरुद्धका सबै प्रहार र षड्यन्त्रलाई परास्त गर्छौं, उनले भने ।
उनले पार्टीलाई विभाजित गरेर कम्युनिष्ट आन्दोलनलाई नै विभाजित गर्ने प्रयास असफल भएको बताए । ‘एमाले अन्य पार्टीभन्दा ठूलो भएर मात्र हुँदैन, एक्लै स्पष्ट बहुमत ल्याउनुपर्छ उनले भने ।
उनले जनताले पत्याएको र धेरै नेता–कार्यकर्ता आबद्ध भएको पार्टी एमाले भएको बताए । विचार र नीतिको हिसाबले यो देशको नेता एमाले हो, उनले भने ।