काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज १० बजे झापा जाँदै छन् । । युवा नेता इन्द्र भण्डारीले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्र्ने कार्यक्रम तय भएको छ ।
स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ। उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले गर्दा दमकमै यस पटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।
गठबन्धनका कारण जिल्लाको अन्य स्थानीय तहमा पनि मुस्किल पर्ने देखिएको छ । सोही कारण चुनावी माहोल बनाउन ओली आज झापा जान लागेका हुन् । अघिल्लो पटक झापाको स्थानीय तहमा पनि एमाले पहिलो दल बनेको थियो । स्थानीय निर्वाचनका लागि अध्यक्ष ओली अहिले देश दौडाहमा लागेका छन् ।