काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा सम्पन्न १०औं महाधिवेशनले पार्टीमा मत मात्रै नभएर मन पनि मिलाएको बताएका छन्।
बिहीबार काठमाडौंमा नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा सहमति खोज्दै मन मिलाउन सक्नु नै ठूलो उपलब्धि भएको बताए।
‘यो महाधिवेशन ऐतिहासिक रह्यो, महाधिवेशनलाई एकता महाधिवेशनभन्दा पनि फरक पर्दैन किनकि यहाँ मतमात्रै नभएर कम्युनिष्ट विचार बोकेकाहरूको मन पनि मिलाइएको छ,’ उनले भने।
अहिले पनि कम्यूनिष्ट पार्टी र कम्यूनिष्ट आन्दोलनहरू सानातिना समूहमा विभाजित रहेको उल्लेख गर्दै अब जनताले नै संविधान बनाएको र यसमा सबैले सहमति जनाएकाले सबै कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताए।
‘सबै दलको सहमतिमा संविधान बनेको छ, धेरै कम्युनिष्ट आन्दोलन भए अब आन्दोलन गर्ने समय सकिएकाले समाज रुपान्तरणका लागि कम्युनिष्टहरू एक हुनुपर्छ, उनले भने।