काठमाडौं । बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आगामी मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएका छन् ।
कानुन नै नबनेकाले रेल सञ्चालनमा आउनेमा जनकपुरवासी विश्वस्त छैनन्। महाप्रबन्धक झाले पुनः विधेयक ल्याएर वा अध्यादेशमार्फत् समय रेल सञ्चालन हुने बताउँछन्। उनले भने, ‘कानुनको आभावमा रेल सञ्चालनमा बाधा हुँदैन। वर्तमान सरकार यथाशीघ्र रेल सञ्चालन गर्न चाहन्छ। समयमै कानुन निर्माण गरेर रेल जसरी पनि मंसिरको अन्तिम साता सञ्चालनमा आउँछ।’
त्यसैगरी महाप्रबन्धक झाले भारत सरकारको सहयोगमा निर्मित रेल संरचनाको दुवै देशका अधिकारीहरुले सोमवारदेखि संयुक्त निरीक्षण समेत थालेको जानकारी दिए। निरीक्षण टोलीमा महाप्रबन्धक झा नेतृत्वमा पाँच सदस्य र भारतीय इरकोन कम्पनीका जनरल म्यानेजर रवि सहाय नेतृत्वको पाँच सदस्य रहेको बताए। टोलीमा दुवै देशका प्राविधिकहरुको समेत सहभागी छन्।
भारत सरकारद्वारा निर्मित रेल्वे ट्रयाक, भवन, सिग्नल, स्टेशन भवन आदि संरचनाको स्थलगत निरीक्षणपछि आवश्यक पर्ने मर्मत सम्भार गरेर संरचना हस्तान्तरण प्रक्रिया अगाडि बढाउने उनले जनाए। महाप्रबन्धक झाले संरचना हस्तान्तरण गराउन भारत सरकारले नेपाल रेल्वे कम्पनीलाई बारम्बार ताकेदा गर्दै आए पनि सञ्चालनमा नआउँदै अधिकांश ठाउँका भवनहरु चर्केको, चुहिन लागेको तथा केही संरचनाहरु अधुरै रहेकाले नेपाल पक्षले स्वामित्व ग्रहण गर्न आलटाल गर्दै आएको बताए। उनले सुरु भएको स्थलगत निरीक्षण सूक्ष्म रुपमा गरिने भएको हुँदा एक सातासम्म लाग्नसक्ने बताए।
यसबीचमा भारतको कोंकन रेल्वे कार्पोरेशन र नेपाल रेल्वे कम्पनीबीच भएको समझौता अनुसारको पहिलो किस्ता बापत साढे सात करोड रुपैयाँ नेपाल सरकारले गत साता भारतीय पक्षलाई भुक्तान गरेको महाप्रबन्धक झाले जानकारी दिए। नेकपा एमालेको अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा उनले नेपालमा रेल र पानीजहाज चलाउने प्रतिवद्धता अनुसार नै कामलाई तीब्रता दिएका थिए । तत्कालीन रेल्वे कम्पनीका महाप्रबन्धकले पनि भारतसँग रेल सेवा विस्तार गर्न धेरै काम गरेका थिए ।