काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पूर्वप्रधानमन्त्री प्रचण्ड र ओलीको चर्को आलोचना गरेका छन् ।
नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
‘१० वर्षसम्म कांग्रेससँग गठबन्धन हुन्छ भन्दै रेणुका लागि भोट मागे, पार्टीको केन्द्रीय निर्देशन मान्यौं,’ उनले भने, ‘रेणुले चुनाव जितेलगत्तै काठमाडौं पुगेर ओलीसँग हात मिलाए, चितवन कांग्रेस अब झुक्किँदैन, म फेरि भन्छु चितवन कांग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन ।’
स्थानीय तहको चुनावमा कांग्रेस(माओवादी गठबन्धन गरेर भरतपुर महानगरमा मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेस लागेको थियो । त्यो बेला गठबन्धन भए पनि चितवनका अन्य स्थानीय तहमा दुवै पार्टी एक्लाएक्लै प्रतिस्पर्धामा उत्रेका थिए ।
सत्ता गठबन्धनमा सँगै रहेको माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको उम्मेदवार मानेर भोट हाल्नुपर्ने पो हो कि भन्ने चिन्ता सुरु भएको देखिन्छ । यहि ९ गते प्रचण्डले अन्तिम पटक चितवनबाटै उम्मेदवारी दिने अभिव्यक्ति दिइसकेका छन् ।
‘प्रचण्डको रणनीति बुझ्यौं, जसरी झुक्काइयो, अब झुक्किन्नौं,’ श्रेष्ठले भने, ‘रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौं भन्दा प्रचण्डलाई ज्वरो किन आउनुपर्यो रु’
१२ गते प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कांग्रेस कार्यकर्ता खुशी हुनुको साटो लखेट्ने कुरा गर्नु विडम्बना भएको बोलेका थिए । ‘रेणु र मलाई लखेट्ने भनेर सभापति भन्ने बोलेछन् भनेर प्रचण्डले बोल्नुभएछ,’ श्रेष्ठले जवाफ दिए, ‘सभापति भन्नेले होइन, चितवन कांग्रेसको सभापति हो भनेर राम्रोसँग बुझ्दा हुन्छ ।’