दामोदर ढकाल पर्यटन क्षेत्रमा नौलो नाम होइन । उनी विगत २ दशकभन्दा अघिदेखि यस क्षेत्रमा निरन्तर क्रियाशील छन् । उच्च शिक्षा अध्ययनको शिलशिलामा काठमाडौं आएदेखि नै उनी यसमै संलग्न छन् । उनले विभिन्न भूमिका र फरक –फरक जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन् ।
हाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सचिवको भूमिकामा छन् । कोभिड –१९ ले सबैभन्दा बढी क्षति ब्यहोरेको क्षेत्र भनेको पर्यटन क्षेत्र हो । नेपालको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतको रुपमा रहेको यस ब्यवसायमा परेको असर ज्यादै नै अपुरणीय छ । यसबाट नेपालमा लाखौंको रोजीरोटी चलेको थियो । हजारौं ब्यवसायीले आफ्नो व्यावसाय सञ्चालन गरेका थिए ।
प्रतक्ष्य र परोक्ष रुपमा समाजका धेरै वर्गहरु लाभान्वित थिए । नेपाल भन्ने वित्तिकै पहिला हिमाल र पर्वतीय पर्यटनको कुरा आउँछ । सम्भावनाका हिसावले पनि यो क्षेत्र नै अव्वल मानिन्छ । ब्यावसायिक हकहितका लागि स्थापना भएको टानको निर्वाचन दिनप्रतिदिन नजिकिँदै गइरहेको छ । सचिव ढकालले पनि आगामी निर्वाचनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने कुरा सार्वजनिक रुपमै बताइसकेका
छन् ।
टानभित्र रहेका साझा समस्यालाई स्थायी रुपले नै सम्बोधन गर्नको लागि आफूसँग प्रस्ट भिजन र दृष्टिाकोण भएकाले आफूलाई मत दिन आग्रह समेत गरेका छन् । आगामी दुई बर्षमा आफूले टानलाई व्यवस्थित र मर्यादित बनाई ब्यवसायी र पर्वतीय पर्यटनको प्रवद्र्धनको काममा कटिवद्ध भएर लाग्ने बताएका छन् ।
यस्तो छ उनको आगामी भावी कार्ययोजना
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को वार्षिक साधरणसभा नजिकै आइसकेको छ । यो वार्षिक साधारण सभाबाट नयाँ, सक्षम र कुशल नेतृत्व चयन गरेर पदयात्रा पर्यटन विकास र समृद्धिको बाटोमा हिडाउँन, सदस्य कम्पनीहरुको गुमेको विश्वास र संस्थाको गरिमाको रक्षाको लागि नै अध्यक्ष पदमा मेरो उम्मेदवारी हो । निर्वाचन नजिकिँदै गर्दा चिल्ला कुरा गरेर मतादातालाई आफ्नो पक्षमा पार्ने काम मलाई मन पर्दैन र त्यस्तो म गर्दिनँ पनि । प्रष्ट रुपमा भन्नुपर्दा बर्षौंदेखि निल्नु न ओकल्नु बनेको टिम्स व्यवस्थापन र लामो समयदेखिको बेरुजुको सिकार बनेको टान र यसको सार्वजनिकरण नै मुख्य एजेण्डा हुनेछन् ।
टानको पहलमा व्यवसायी र यस क्षेत्रको विकाश, प्रवर्दनका लागि टिम्सको परिकल्पना भएकाको र टिम्स टानसॅंग भएको हो । यसमा नेपाल पर्यटन बोर्डको कमाइखाने भाँडो बनाउन किन दिने ? टिम्समा समस्या छ, पर्यटक हराउँछन् त्यसैले सदस्य कम्पनीले मात्र टिम्स जारी गर्न पाउनुपर्छ । पर्यटकलाई विभिन्न परमिट बेच्नु भन्दा एकमुष्ठ रुपमा अनुमतिपत्रको परिकल्पना गरिनुपर्छ । पर्वतीय पर्यटन विकास र प्रवद्र्धन आजको आवश्यकता हो । यी र यस्ता सबै विषयमा नेतृत्वको भूमिक कुशलतापूर्वक निभाउन सक्ने बलियो टिमलाई नेतृत्व सुम्पिनु अपरिहार्य छ अनिमात्र हामीले चाहेका कुराहरु प्राप्त गर्न सक्छौं ।
अर्को कुरा, सबै संघसंस्थाको नेतृत्वमा पुग्न होडबाजी हुने गरेको छ । आ– आफ्ना घोषणापत्रमार्फत बिभिन्न नाराहरू तय गर्ने गरिन्छ । घोषणापत्रको आधार र राजनीतिक आस्थाको आधारमा सामाजिक संघ संस्थाको निर्वाचन सम्पन्न गरिन्छ । जब निर्वाचन विजयी भइन्छ अनि आफूले ब्यक्त गरेका प्रतिबद्धतालाई भुलेर संस्थाको हित विपरीत, आफ्नो स्वार्थलाई मध्यनजर राखेर काम गरिन्छ । व्यावसायिक हकहितको संरक्षण गर्नको लागि निर्वाचित भएका पदाधिकारीहरू नै जब व्यावसायिक हित र संरक्षणभन्दा व्यक्तिगत स्वार्थमा उल्झन पुग्छन् । संस्थागत हितभन्दा व्यक्तिगत हितमा तल्लीन हुन थाल्छन् तब न संस्थाको हित हुन्छ, न व्यावसायिको हितमा कार्य हुनसक्छ । मैले आफूले पनि यी र यस्ता गतिविधिलाई अनुभव र अनुभूति प्राप्त गरेको छु र मबाट यस प्रकारका कार्यहरु कदापि नहुने प्रतिवद्धता ब्यक्त गर्दछु ।
मैले आजसम्म पनि निःस्वार्थ रूपमा आफूलाई संस्थाको हितमा समर्पित गरेको छु । जुन कुरा यस क्षेत्रका साथीहरुलाई थाहा नै छ । कतिपय कामहरु टिम स्पिरिट नमिलेका कारण गर्न इच्छा भएर पनि गर्न सकिएको छैन । नेतृत्व तहमा आफूलाई उभ्याउन सकेको खण्डमा म धेरै काम गरेर सकारात्मक परिणाम देखाउन सक्छु । ट्रेकिङ व्यावसायीहरूले मलाई जुन उत्साहका साथ सचिव पदमा निर्वाचित गराउनु भएको थियो, मलाई लाग्छ, मैले पक्कै पनि यहाँहरुको शिर निहुराउन पर्ने काम गरेको छैन । एउटा ध्रुर्वसत्य कुरा के हो भने यहाँहरूको अपेक्षा अनुसारको कार्य भने हुन नसकेको यथार्थ हो । संस्थागत निर्णयका कारण मैले चाहेर मात्रै हुँदो रहेनछ ।
संस्थामा रहेर काम गर्ने मेरो जोश जाँगरमा केही कमी आएको छैन । म थाकेको छैन । ऊर्जा, साहस र आँट झन् धेरै आएको छ । अझ सशक्त र सुदृढ ढङ्गले संस्थालाई अगाडि बढाउन यहाँहरुको साथ र सहयोगमा संस्थालाई क्रियाशील, गतिशील र एक सशक्त संस्था निर्माण गर्न आगामी टानको माघ २८ गते हुने निर्वाचनमा अध्यक्ष पदमा मेरो दावेदारी रहने कुराको उद्घोष गर्न चाहन्छु, आगामी दिनमा पनि सम्पूर्ण व्यावसायी साथीहरूको साथ र सहयोग रहने अपेक्षा लिएको छु ।
मेरो उम्मेदवारी सम्पूर्ण व्यावसायिको हितमा हुनेछ भन्ने विश्वास लिएको छु । यहाँहरूको सल्लाह सुझाव मलाई मार्गदर्शन हुनेछ । आगामी दिनमा यहाँहरूको सल्लाह सुझाव अनुसार नै मेरा कदम अगाडि बढ्नेछ ।