काठमाडौं ।काठमाडौ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला आज (शुक्रबार) गर्ने तयारी गरेको छ।
न्यायाधीश शिशरराज ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको हो।
आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । उनले २० मिनेट बहस गरेपछि सुनुवाइ स्थगित गरिएको थियो ।
बिहीबार सापकोटा र सरोजकृष्ण घिमिरेसहितका ६ अधिवक्ताले बहस गरे का थिए। वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बारकै पूर्वमहासचिव समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि सन्दीपका तर्फबाट बहस गरेका छन् । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ ।