काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावमा जाने कुरा प्रतिगमन नभएको दाबी गरेका छन्।
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै पोखरेलले अरु दलका नेताले गरेको घोचपेचको जवाफमा जनतामा जाने कुरा प्रतिगामी नहुने जिकिर गरेका हुन्।
महाधिवेशनमा शुभकामना दिन पुगेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेले गरेको संसद विघटन र अवरोधलाई प्रतिगमनको संज्ञा दिँदै त्यसबाट बच्नुपर्ने बताएका थिए। त्यसको जवाफ दिँदै पोखरेलले भने, ‘जनतामा जाने कुरा प्रतिगमन होइन। एमालेले जनतामा जाऔँ भनेको। अनावश्यक लेपन नलगाऔँ।’
उनले माओवादी केन्द्रको पुनः अध्यक्ष हुन लागेकोमा प्रचण्डलाई शुभकामना दिए। जनताले क्रान्तिभन्दा पनि परिवर्तन खोजेको उनको भनाइ थियो। त्यसका लागि आफूलाई समीक्षा गर्नुपर्ने उनले बताए।
उनले भने, ‘प्रचण्ड पुनः अध्यक्ष हुने सुनेको छु। उहाँलाई शुभकामना। जनताले क्रान्ति मात्रै होइन, परिवर्तन खोजेका छन्। हामीले आफूलाई समीक्षा गर्न आवश्यक छ। अधिकारका विषयमा च्याम्पियन बनौँ, तर कर्तव्य पूरा गर्न सकेनौँ, त्यसलाई दलहरुले मनन् गर्न आवश्यक छ।’
पछिल्लो समय वामपन्थी आन्दोलन ठीक बाटोमा हिँड्न नसकेको उनको भनाइ छ। उनले भने, ‘वामपन्थी आन्दोलन ठीक बाटोमा हिँड्न सकेको छैन। नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन आवश्यक छ, नेता–नेताका मान्यताबाट अघि बढ्न सकिँदैन।’