काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।
शनिबार सुरु भएको केन्द्रीय कमिटीको बैठकले बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको सचिव योगश भट्टराईले जानकारी दिए। उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई अध्यक्ष केपी ओलीको प्रस्तावमा परिषदको अध्यक्ष बनाइएको हो ।
एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि पार्टीको अनुशासन आयोगका अध्यक्ष थिए। माधव नेपालसँग निकट रहेर लामो समयसम्म काम गरेका बोहरा पार्टी फुटाउने नेपालको कदमप्रति असहमत थिए ।
नेकपा एमाले मात्रै जनताको पार्टी भएकाले अरुको लहैलहैमा लागेर आफ्नो दलको सरकार गिराउन नहुने कुरामा दरो अडान राख्दै आएका थिए । उनको यही विचारलाई अध्यक्ष ओलीले उच्च मूल्यांकन गरेर नै अध्यक्ष पदमा चयन गरेका हुन् । यसबाट एमालेका कार्यकर्तामा राम्रो काम गरेमा पक्कै त्यसको सही मूल्यांकन हुने रहेछ भन्ने परेको छ ।