काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछि नेपाली कांग्रेसले भारतीय सेना बोलाएर देशभक्त नेपालीको हत्या गराएको आरोप लगाएका छन् ।
अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले यस्तो गम्भीर आरोप लगाएका हुन् ।उनले कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाकोसमेत आलोचना गरेका थिए ।
२००७ सालपछि आन्दोलनको उपलब्धि अपूरो भयो भनेर आवाज उठाउने युवाहरूमाथि कांग्रेसको सरकारले दमन गरेको उनले बताए ।
‘भारतीय सेना ल्याएर डोटीमा गिरफ्तार गरेर भीमदत्त पन्तको टाउको काट्ने काम भयो,’ ओलीले भने, ‘अलिक भन्न राम्रो लाग्दैन, तर यो सबै नेपाली कांग्रेसले गरेको हो । विदेशी सेना नेपालभित्र बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । नेपाली कांग्रेस यस्तै हो ।’
ओलीले थपे, ‘विद्यार्थी आन्दोलन दबाउने क्रममा २००८ साल कात्तिक २० गते चिनियाँ काजीको हत्या गर्दा वीर विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री हुनुहुन्थ्यो । त्यति बेला कति विद्यार्थी हुँदा हुन् ? त्यति पनि सहन नसकेर गोली चलाइएको थियो ।’


