काठमाडौ । नेकपा (एमाले )का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन् । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने बित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट पारे
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नसक्ने धारणासमेत राखे ।
हाललाई उनी नीतिगत रूपमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेको पनि महासचिव पोेखरेलले जानकारी दिए ।
उनले पार्टीका नेताहरूको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी समेत गरे ।
पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि ? भनी सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरूले यस्तो प्रश्न नै नगर्ने तर्कसमेत गरे ।
एकसेएक नेताहरू भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भए पनि त्यसलाई नै लिएर विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाइ थियो ।
उनले भने, ‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनु भएन । त्यसकारण उहाँको कार्य विभाजन केन्द्रीय कमिटीमा रहेन । हामीले गरेको नीतिगत निर्णयको सन्दर्भमा हेर्ने हो भने केन्द्रीय सल्लाहकार परिषदको सदस्यको जिम्मेवारी दिइएको छ ।