बाह्रबिसे । स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अन्तर्राष्ट्रिय स्थल नाकामा अवस्थित हेल्थ डेस्कको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार वागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना भण्डारीको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका वक्ताहरुले अन्तराष्टिय सीमा नाकामा हेल्थ डेस्कको स्थापना हुनुपर्ने सीमाबाट एक देशको रोगहरु अर्को देशमा भित्रिन सक्ने भएकाले यसको रोकथामको लागि के कस्ता उपायहरु अबलम्बन गर्ने भन्ने कुरामा उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए । यसका साथै दक्ष प्राविधिकहरु आवश्यक भएकोमा जोड दिइएको थियो ।
उक्त कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. रुद्र मरासैनी, स्वास्थ्य ब्यबस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, चौतारा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारी, तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत, कोदारी अध्यागमन कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, भोटेकोशी गाउँपालिका ५ का वडा अध्यक्ष दावा त्याम्बा तामाङ लगायतकाहरुको उपस्थिती थियो ।
कार्यक्रममा भोटेकोशी गाउँपालिका वढा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठले आफूले यस विषयलाई उच्च महत्व दिएको उल्लेख गर्दै स्थानीय सरकारले यसमा पालना गर्नुपर्ने कुराहरुलाई अक्षरशस् पालना गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । साथै उनले हेल्थ डेस्क भवन निर्माणका लागि जग्गाको ब्यबस्थापन भइसकेको अवगत गराएका थिए । ।