काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ। शुक्रबार माओवादी केन्द्र प्रदेश २ ले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनअन्तर्गत शनिबार उद्घाटन सत्र हुने जानकारी दिएको हो।
उद्घाटन सत्रको लागि तयारी तीव्र पारिएको प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले बताए। उनले उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेसमेत बताए ।
प्रदेश २ मा २७१ सदस्यीय कमिटीका लागि अधिवेशन हुनेछ। संयोजक बुढाथोकीले उद्घाटनसत्रपछि बन्द सत्र पुस ३ गतेदेखि हुने बताए। उदघाट्नसत्रमा स्थायी समिति सदस्यहरु गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, गणेश साहलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
अधिवेशनमा प्रदेश २ का ८ वटै जिल्लाबाट झण्डै एक हजार अधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। १३६ पालिकबाट ६ सय, आयोजक र मनोनीत गरी एक हजार प्रतिनिधि अधिवेशनमा भाग लिने प्रदेश संयोजक बुढाथोकीले बताए।
माओवादी केन्द्रको प्रदेश २ को अधिकांश पालिकामा अधिवेशन सम्पन्न भएको छ। बाँकी रहेका पालिकामा पनि बन्दसत्रअगावै अधिवेशन सम्पन्न हुने माओवादी केन्द्रले जनाएको छ।