एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको समयमा स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा नेता रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्नेत बताएका हुन्।
केन्द्रीय कमिटी बैठक भइरहेको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आइतबार दिउँसो स्थायी कमिटी सदस्य अनौपचारिक बैठक बसेको थियो।
बैठकमा उपस्थित एक नेताले दिएको जानकारी अनुसार रावलले छलफलमा आफू अहिले केही नबोल्ने र समय आएपछि बोल्ने बताएका हुन्। ‘मौनताको अर्थ रहन्छ। तत्काल केही बोल्दिनँ’, रावलको भनाई उद्धृत गर्दै ती नेताले भने।
दश बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने कुरामा एमालेभित्र मतभेद छ। अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेर एमालेमै बसेका उपाध्यक्ष भीम रावलले दश बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू हुनुपर्ने बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज माओवादी केन्द्र छोडेर आएका लेखराज भट्टलाई बनाएका छन्। रावल केपी ओलीसँग रिसाएकै कारण मौन बसेको हुनसक्ने आँकलन छ ।