काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले माधव नेपाल समूहलाई पार्टीभित्रको मयलको संज्ञा दिएका छन् । विभाजनपछि मयल पखालिएर पार्टी झनै स्वस्थ, सुन्दर र मजबुत भएको उनले दावी गरे
नेकपा एमाले पाल्पा(काठमाडौँ सम्पर्क मञ्चले दसैँं तिहारको अवसर पारी विहीबार राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीबाट बाहिरिने माधव नेपाल समूहको निर्णयले आफूहरुलाई घाटा नहुने बताए ।
उनले भने, ‘आमजनताको चाहना पार्टी एकढिक्का होस् भन्ने नै थियो । तर, पार्टीभित्रैको एउटा समूह पार्टीलाई क्षतविच्छेद गराउन चाहन्थ्यो । त्यही समूह अहिले बाहिरिएको हो । यसले पार्टीलाई घाटा होइन झनै राम्रो र सुदृढ बनाएको छ ।’
पौडेलले थपे, ‘पार्टीभित्रको जो फोहोर र मयल थियो, अहिले बाहिरिएको भनेको त्यही मयल हो । मयल हट्दा त्यो ठाउँ झनै सफा र स्वस्थ पो हुन्छ ।’
नेता पौडेलले नेकपा एमाले अहिले पनि ठूलो पार्टी भएको र अब आउने निर्वाचनपछि झनै ठूलो हुने दावी गरे ।
उनले भने, ‘विकास गर्ने र जनताको आशा भएको पार्टी नेकपा एमाले नै हो । जनताले त्यो बुझ्नु भएकै छ । आगामी निर्वाचनबाट हामी ठूलो जनादेशसहित सरकारमा आउँनेछौँ ।’