काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन असोज १५ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।
महाधिवेशनमा तीन वटा दस्ताबेज छलफलका लागि प्रस्तुत भएको छ । राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव प्रतिनिधिहरू सामु पेश भएको हो ।
यस्तै महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न कमिटीहरु गठन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनमा प्रस्तुत दस्तावेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । भोलि बिहान ८ बजेदेखि दस्तावेजमाथि समूहगत छलफल हुने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।
अध्यक्ष मण्डलमा केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् भने प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी सदस्य छन् यस्तै सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे छन् भने बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर सदस्य छन् । त्यस्तै प्रचार समन्वय कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा रहेका छन् । माधव छोडेर आफूसँग आएका भीम रावल, घनाश्याम लगायतका १० भाइलाई महत्वपूर्ण जिम्मेवारी दिएर उनले ती १० भाइको मन जित्ने प्रयास गरेको बुझिएको छ ।