काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन्। यसको लागि उनले प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफलसमेत गरिरहेकी छिन्
एमाले उपाध्यक्ष रहेकी शाक्यले गत भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन्। एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीलाई निर्वाचन आयोगले गत भदौ २५ मा मान्यता प्रदान गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन्। एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेका छन्। अल्पमतमा परेकी शाक्यले असोज २५ भित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ।
उनलाई सरकार बचाउन ५५ मत चाहिन्छ।
एमाले बागमती प्रदेशको मुख्य सचेतक दीपक निरौलाले मुख्यमन्त्री शाक्यले छिट्टै संसद बोलाएर विश्वासको मत लिने तयारी गरिरहेको बताए।
मुख्य सचेतक निरौलाले २५ गतेसम्म सर्वोच्चले आफूहरुको पक्षमा फैसला गर्न सक्ने पनि विश्वास व्यक्त गरे। उनले केन्द्रमा एमालेले १४ जना सांसदलाई गरेको कारबाही र एकीकृत समाजवादी दर्ताको मुद्दा एमालेको पक्षमा आए वर्तमान सरकारले नै निरन्तरता पाउने जिकिर गरे।
कुन दलको कति सांसद ?
बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन्। सरकार गठनका लागि ५५ सांसद चाहिन्छ। तर, यति बेला संसदमा रहेको कुनै पनि दलसँग सरकार गठनका लागि एकल बहुमत छैन।
संसदमा एमालेसँग ४३, नेकपा (माओवादी केन्द्र) सँग २३, नेपाली कांग्रेससँग २२, नेकपा ९एकीकृत समाजवादी०सँग १३, विवेकशील साझासँग ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीसँग २÷२ तथा जनता समाजवादी पार्टीसँग एक सांसद छ।