काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरेका छन् ।
एमाले सिन्धुपाल्चोक – काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतसँग सम्बन्ध बिगार्यो भनेर आफूमाथि आरोप लगाइएको बताए । उनले ती व्यक्तिहरुमा लेण्डुप दोर्जे मानसिकता रहेको समेत टिप्पणी गरे।
ओलीले भने (जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो,कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।
अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइट काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताए ।