काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ल्याएको बजेट संघीयता विरोधी रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पौडेलले बजेटले प्रदेश र स्थानीय तहका अधिकार कटौती गरेको बताएका छन् ।
उनले भने ‘साना पूर्वाधार आयोजना प्रदेश र स्थानीय तहमा सार्ने बजेटमा घोषणा गरिएको छ । तर, त्यसको अन्तर्य अर्कै रहेछ, साना योजना केन्द्रले छनोट गर्ने र ती योजनाको सीमित, सशर्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउने कुरा रहेछ,’ उनले भने, ‘यसबाट आफ्नो योजना आफैले छनोट गर्ने प्रदेश र स्थानीय तहको अधिकार कटौती गरिएको छ । यताबाट लिस्ट पठाउने र त्यसका निम्ती सीमित सशर्त अनुदान पठाउने रहेछ । यो योजना हो, यो बजेट हो कार्यान्वयन गर्नू भनेर निर्देश गरिने रहेछ । यो संघीयता, वित्तीय संघीयताका अवधारण र मान्यताको ठाडो बर्खिलाप छ । यो संघीयताविरोधी कदम हो ।’
संघीयतामा केन्द्रबाट लादिएका कार्यक्रम कार्यान्वयन हुन नसक्ने पौडैलको भनाइ थियो ।