काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरु भ्रष्टाचारमा डुबेका कारण विभिन्न प्रकरणहरु सार्वजनिक भइरहेको बताएका छन् ।
नेता कोइरालाले शनिबार विराटनगरमा दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् । उनले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला ठूला भ्रष्टाचार हुनै नसक्ने दावीसमेत गरे ।
एनसेल प्रकरणमा राजनैतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अरबौं रुपैयाका भ्रष्टाचार भएको उनले बताए । नेता कोइरालाले राजनैतिक दलका नेता र नेतृत्वका कारण व्यवस्था प्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।
कार्यक्रममा ५१ हजार राशीको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठलाई र २५ हजार राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।