काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज ( सोमबार) उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ। ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २० सिटमा निर्वाचन हुन लागेको हो।
आयोगका अनुसार आज मनोनयन दर्ता हुने उम्मेदवारीविरुद्ध पुस २४ गते दाबी, विरोध तथा उजुरी गर्न सकिने छ। पुस २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले जनाएको छ। पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ।