काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक शुक्रबार सिंहदरबारमा बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए ।
शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् ।
मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमानदार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उनले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिनुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।