काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस. जयशंकरको संयुक्त अध्यक्षता मानेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक बिहीबार अपरान्ह सकिएको छ।
बैठक काठमाडौंको याक एन्ड यती होटलमा एक घण्टा चलेको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले आजको बैठकमा चारवटा सम्झौता भएका बताए।
आगामी १० वर्षभित्र नेपालबाट भारतमा १० हजार मेगावाट बिजुली निर्यातसहित चारवटा सम्झौतामा हस्ताक्षर भएको हो।
‘कनेक्टिभिटी, ट्रेड, वाटर एसोसियट र पावर ट्रेडको कुरा भएको छ’, उनले भनेका छन्, ‘दुई देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा चारवटा सम्झौता र सहमतिमा हस्ताक्षर भएको छ।’
राईका अनुसार बैठकमा नेपाल–भारत तीनवटा मुख्य क्रस बोर्डर ट्रान्समिसन लाइन १३२ केभीको उद्घाटन पनि यो बैठकमा भएको छ।
‘रक्सौल–परवानीपुर लाइन, कटैया–कुशाहा र नौतनवा–मैनवा १३२ केभी प्रसारण लाइन बैठकमा उद्घाटन भएको छ’, उनले भने, ‘यससँगै नेपाल–भारत विद्युत् व्यापार पनि अब झन् सहज हुने छ।’
राईका अनुसार भारतले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पबाट पीडित भएकाहरूलाई पुनर्स्थापनका लागि १ हजार करोड नेपाली रुपैयाँ सहयोग गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ।