काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले जतिसुकै अबरोध गरे पनि नीति तथा कार्यक्रमलाई सदनबाट पारित गराएरै छोड्ने बताएका छन् ।
अध्यक्ष ओलीले आज एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘कांग्रेसले सरकारबाट बाहिरिनुपर्दाको पीडा पोखेर कराइरहेको छ, अब समय थोरै छ, आज ४ गते भयो १५ गतेभित्र नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्नुछ । त्यसकारण कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद त चलाउँछौं, नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनै पर्छ, देशलाई नै ठप्प पार्ने अनि कांग्रेसले यसलाई बोल्न दिन्छु भन्दा दिने दिन्न भन्दा नदिने हुन्छ ? कांग्रेसले जेजे भन्यो त्यही मान्दिनुपर्ने ?’