काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा विश्वासको मत मागेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई सम्बोधन गर्दै सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको उनले दाबी गरे।
‘अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ। पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो। त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो। तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ।’