काठमाडौं । मेयर र वडा अध्यक्षबीच विबाद भएपछि काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ ।
असार १० गते बसेको नगरसभाको बैठकमा मेयर बालेन्द्र साहले पेस गरेका नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव हालेका थिए ।
नगरसभाको १५ औँ अधिवेशन बसेको उक्त दिन आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश हुँदा वडाअध्यक्षहरूले संशोधन प्रस्ताव हालेका थिए ।
तर बालेन्द्रले यथासम्भव ती कुरालाई समावेश गरिने एक मुष्ट जवाफ दिएका थिए । उनको जवाफमा चित्त नबुझाएका अन्य जनप्रतिनिधिहरूले बरु यसबारेमा समिति गठन गर्न प्रस्ताव गरेका थिए । आफूहरूले राखेका संशोधन प्रस्ताव सबै समेटिनुपर्ने अडान राखेका उनीहरू र मेयरबीच फेरि द्वन्द्व देखिएको हो ।
असार १० को नगरसभामा मेयर बालेन्द्रको कार्यशैली र प्रवृत्तिलाई लिएर अरु जनप्रतिनिधिले चर्को आलोचना र घेराबन्दी गरेका थिए । मेयर साहलाई वडाअध्यक्षहरूले प्रतिपक्षीकै शैलीमा घेरेका थिए ।
‘एमाले(कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।