काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षणका लागि तीनै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् ।
उनले आइतबार दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै तराई मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए ।
“चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,” प्रधानमन्त्रीले भने, “तराई मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो ।”