काठमाडौं । नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकै त्रिशुली नदीमा दुर्घटना हुँदा कम्तिमा १२ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।
बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।
बस चालक कोहलपुर – १२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।