काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपाल सामाजिक न्याय प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएका छन् ।
मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा सुधारका साथै त्यसक्रममा प्राप्त अनुभव, उपलब्धिबारे जानकारी दिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
मन्त्री अर्यालले मङ्गलबार अपराह्न मलेसियाका मानव संशाधन मन्त्री चि केओङ सिमसँग भेटवार्ता गरे। त्यस अवसरमा उनहरूबीच नेपाली आप्रवासी कामदारका लागि सुरक्षित कामको वातावरण निर्माण र कामदारको सीप अभिवृद्धिमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो । मन्त्री अर्याल शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।