काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले बजेट निर्माण गर्दा सत्ता साझेदार पार्टीहरुसँग छलफल नगरेको आरोप लगाएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका उनले आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै बजेट निर्माणका क्रममा आफ्नो पार्टीसँग छलफल नगरेकोमा सांकेतिक रूपमा असन्तुष्टि जनाए ।
‘अर्थमन्त्रीज्यू बजेट निर्माणका क्रममा यति व्यस्त हुनुभयो कि सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्न भ्याउनुभएन’, पौडेलले भने, ‘अहिलेको बजेट राम्रो हुँदाहुँदै पनि छलफल गरेको भए अझ राम्रो हुने थियो ।’
उनले ६ प्रतिशतको आर्थिक वृद्धि, बजेटमा कृषिमा लगानी दशक लगायतका विषय राम्रा भएपनि कृषिको बजेट घटेको भन्दै त्यसमा अर्थमन्त्रीले ध्यान दिने विश्वास व्यक्त गरे ।