काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सदस्यहरुले काठमाडौं कोदारी राजमार्गको अनुगमन भ्रमण गरेका छन् । उनीहरु गत आइतबार अनुगमनमा गएका हुन् । अनुगमनका क्रममा उनीहरुले भोटेकोशी गाउँपालिका जनप्रतिनिधसँग छलफल गरेका थिए ।
समितिले नेपाल नाकामा प्रवेशद्वार निर्माणका लागि तत्कालै पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेको थियो । भेटमा अरनिको राजमार्ग मुख्यगरी बाह्रबिसेदेखि नाकासम्मको अवस्था अत्यन्तै नाजुक रहेकोले यसको स्तरोन्नतिका लागि पर्याप्त बजेटको ब्यवस्था गरिनुपर्ने, घट्टेखोलामा तत्कालै मोटरेबल पुल बनाउनुपर्ने र कोदारी बजार संरक्षणमा विशेष ध्यान दिन आग्रह गरिएको भोटेकोशी-२ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
अनुगमनका लागि समितिका सदस्यहरु उर्मिला माझी, कल्पना चौधरी, ठाकुरप्रसाद गैरे, दयाल बहादुर शाही, निर्मला कोइराला, निशा डाँगी, प्रतिमा गौतम, माधव सापकोटा, मैना कार्की, लालबीर चौधरी, बिना लामा,शंकर भण्डारी, र सीता गुरुङ सहभागी थिए । सापकोटा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।