काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर आतंक नै भएको टिप्पणी गरेका छन् । उनले बुधबार प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।
पोखरेलले भने, ‘माओवादीले गरेको हिंसामात्र थिएन आतंक नै थियो । बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन् आतंक थिए । माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ । हो हामीले मानेका छौं कि माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो । समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौं र अहिले पनि गर्छौं ।’