काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनलाई सत्ताको हतियार बनाएको टिप्पणी गरेका छन् ।
संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए ।
प्रचण्डले भने, ‘परिस्थिति निकै जटिल छ, सहज छैन । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । अहिले दुई ठूला पार्टी त्यसको मर्मअनुसार अघि बढ्न खोजेका छैनन् । उहाँहरुको एजेण्डा संविधान संशोधन दुईचार दिन अगाडिसम्म थिएन । यो संविधानले राजनीतिक स्थिरता भए समीक्षा गर्ने बेला भयो कहिल्यै भन्नुभएको थिएन । कसैले सुन्नुभएको छ, एमाले र कांग्रेसले संविधान संशोधनको कहिल्यै छलफल गरेका थिएनन् । उनीहरुलाई चाहिएको सरकार थियो ।’
माओवादी केन्द्रको नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि संविधान संशोधनको विषयलाई कथा बनाएको भन्दै उनले थपे, ‘यो उहाँहरुको एजेण्डा होइन, अरुको एजेण्डा हो ।’