काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासन अधिनायकवादतर्फ लैजाने खोजिएकाले त्यसविरुद्ध विपक्षीहरू संगठित हुनुपर्ने बताएका छन् ।
बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समेटेर लैजानुपर्ने बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
अध्यक्ष दाहालले भूराजनीतिक स्थितिले गर्दा राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको बताएका थिए ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए ।