काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा बलिया राजनीतिक शक्ति चाहिएको बताएका छन् ।
महासचिव पोखरेलले मंगलबार एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले नेपाल नेपालीले नै बनाउने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको बताए ।
‘देश बनाउने कुरा भिजनको आधारमा हुने गर्दछ, नीतिको आधारमा हुने गर्दछ, नीति, दृष्टिकोण नभएका अराजकताको माध्यमबाट कुनै पनि देश बन्न सक्दैन’, उनले भने ।
पोखरेलले यो देशमा राणा शान अन्त्य गर्ने, पञ्चायत ढाल्ने, प्रजातन्त्र र गणतन्त्र ल्याउने काम पुरानो पुस्ताले नै गरेको स्मरण गराए । अहिले स्पष्ट दृष्टिकोणका साथ विकास र समृद्धिको नेतृत्व गर्ने सरकार बनेको पोखरेलले दाबी गरेका छन् ।