काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बगाएको छ । दुई दिनदेखि निरन्तर आएको अबिरल वर्षासँगै नदीमा पानीको सतह बढेर आज विहान उक्त बेलिब्रिज बगाएको हो । भोटेकोशी गाउँपालिका २ का वडाअध्यक्ष कुमार श्रेष्ठले अहिले भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च जोखिम रहेको बताए ।
३ र ४ वडा जोड्ने यो बेलिब्रिज बगाएसँगै भोटेकोशीका २ र ३ वडाको पारीको भूभागसँगको सडक सम्पर्क टुटेको छ । भोटेकोशी ३ का अध्यक्ष निमा सोना शेर्पाका अनुसार उक्त ठाउँमा तुइन हाल्ले तयारी गरे पनि निरन्तर आरीघोप्टे वर्षा भइरहेकोले समस्या भइरहेको छ । उनले भने, ‘भोटेकोशी नदीमा पानीको सतह झन् झन् बढ्दैछ, पुरानो तुइन र लठ्ठा तयारी अवस्थामै छ, प्राविधिक टोली नहुँदा समस्या भयो।’ उनले तुईन राख्ने स्थानमा माथिबाट ढुंगा खसिरहेकोले थप चिन्ता बढेको बताए । उनले बत्ती गएर टेलिकमको टावरले काम नगर्दा सुरक्षा निकायसँग समन्वय गर्न समेत कठिन भएको बताए । शेर्पाले बाढीले भखैरै मात्र लिपिङ पुछारमा रहेको पुलसमेत बगाएको जानकारी दिए ।
दुवै पुल बगाएपछि नेपाल-चीनबीचको व्यापारिक कारोबार पूर्णरुपमा ठप्प भएको छ । यसबाट ब्यावसायीहरुले दशैं तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याएको सामान काठमाडौं ल्याउन असहज भएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बाढीले दुवै पुल बगाएसँगै ब्यापारी वर्गामा ठुलो त्रास सिर्जना भएको बताए । उनले अहिले चाडपर्व लक्षित गरेर ल्याइएका करिब ६०० कन्टेनर बराबरका सामान तिब्बतका विभिन्न स्थानमा रहेको बताए । बस्नेतका अनुसार अहिले नेपाली ब्यापारीहरुले मुख्यगरी स्याउ, लसुन लत्ताकपडा र विभिन्न रेडिमेटका सामानहरु आयात गरेका छन् ।
ती सामानहरु चाडपर्वअघि नै बजारमा लानुपर्ने उनले बताए । अहिलेको मौसमले गर्दा सम्बन्धित भूगोलमा जानसक्ने अवस्था नरहेकाले टेलिफनकै भरमा आफूले थप अपडेट लिइरहेको बताए । उनले तत्कालै राज्यले छिटोभन्दा छिटो उक्त स्थानमा अस्थायी बेलिब्रिज निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अब राज्यले तत्कालै पहल कदमी लिएर एक हप्ताभित्रै बेलिब्रिज बनाउनुपर्छ।’ उनले नेपाल र मित्रराष्ट चीनबीचको सबैभन्दा पुरानो ब्यापारिक नाकालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । उक्त नाकाबाट गतवर्ष मात्रै सरकारले १३ अर्बभन्दा माथि राजश्व उठाएको र आगामी वर्षका लागि २२ अर्बको लक्ष्य लिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले प्राकृतिक विपत्ति आइपरेको बेलामा सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने बताए ।