काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा सबै नागरिकको पहुँचका लागि सरकार लागिपरेको बताएका छन्।
उनले आज विश्व बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रममा संविधानले प्रत्याभूत गरेको नागरिकको आवासको हक सुनिश्चित गर्नका लागि सहरी विकास मन्त्रालयले काम गरिरहेको बताए।
‘नेपालको संविधानमा आवासको हकलाई मौलिक हकको रूपमा व्यवस्था भएअनुसार सीमान्तकृत, घरवारविहीन, सामाजिक–आर्थिक रूपले पछि परेका नागरिकहरूको आवासको सुनिश्चितताको प्रत्याभूत गरिएको छ। यसका लागि सहरी विकास मन्त्रालय जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रमहरू सञ्चालन गरी ग्रामीण क्षेत्रका नागरिकलाई समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर रहेको छ,’ उनले भने।