काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलले आफूलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार ऊर्जामन्त्री दीपक खड्कामा नरहेको जिकिर गरेका छन् ।
मन्त्री खड्काले सोधेको स्पष्टिकरणको लिखित जवाफ दिँदै घिसिङले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएको आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् । उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् ।
मन्त्री खड्काले पदबाट हटाउन दोस्रोपटक स्पष्टीकरण पठाएपछि घिसिङले पदबाट हटाउने विषयमा दोस्रो पटक ६ बुँदे स्पष्टीकरण दिएका हुन् । उनले बुँदा नम्बर (क) पदबाट हटाउने विषय दोस्रो पटक स्पष्टीकरणमा जवाफ लेखेका छन्, “मेरो विगत दुई आ.व.को कार्यसम्पादन मूल्यांकन भएको व्यहोरा तहाँको अभिलेखमा रहेको छ । आ.व.२०८०/८१ को कार्यसम्पादनको मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ ।”