काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकिएको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गरी रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित “नेपाल महोत्सव २०२५” लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले योजना, दूरदर्शिता र विविधीकरणमार्फत नेपाललाई समृद्ध बनाउने खाका प्रस्तुत गरे।
उनले भने, ‘योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन। विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौं। तेलमा मात्र निर्भर भएको युएईले आफ्नो अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सिटी र व्यापार जस्ता क्षेत्रमा ध्यान दिइरहेको छ। दुबईलाई विश्वको व्यापारिक हब बनाएको छ। हामीले पनि हाम्रो देशको सम्भावनाहरूको विविधीकरण गर्न सक्नुपर्छ।’
नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधिजस्ता क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउन सके नेपालभित्र रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए।