काठमाडौं । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो।
बुधबार भएको सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ। कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन।
नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बाहिरिएका छन् । उनले सहमति हुने गरी वार्ता चलिरहेको बताए । शिक्षकका केही माग मन्त्रिपरिषद्बाट निर्णय गराउन पूरा गराउने र त्यसपछि पुनः वार्तालाई निरन्तरता दिँदै सहमति हुने जनाइएको छ । शिक्षकसँग ७ बुँदामा सहमति भएको र त्यसलाई मन्त्रिपरिषद्बाट निर्णय गराउने शिक्षा मन्त्रालय स्रोतले जनायो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आन्दोलन थालेका थिए ।