काठमाडौं । राजस्व अनुसन्धान विभागले श्याम वस्त्रालयका श्यामप्रसाद गुप्ताविरुद्ध २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय, इटहरीले अनुसन्धान कार्य सम्पन्न गरी आइतबार उच्च अदालत जनकपुर राजविराजमा मुद्दा दायर गरेको हो ।
गुप्ताविरुद्ध १० करोड ६८ लाख ५५ हजार ७९५ रुपैयाँ बिगो कायम गरेको छ । उक्त बिगो असुल उपर गरी बिगोको सतप्रतिशत जरिवानासमेत गरी कुल २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ असुलउपरको मागदाबी आयोगको छ ।
राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमार्फत अनुसन्धान कार्य सम्पन्न गरी आइतबार अभियोगपत्र दायर गरेको हो । विभागका अनुसार,सिराहाको लहान नगरपालिका– ८ स्थित श्याम वस्त्रालयमा खानतलासी गर्दा गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको थियो ।


