काठमाडौं । रसुवा भन्सारका मुख्य हर्ताकर्ता रहेका अधिकृत लक्ष्मण बास्तोला भन्सार विभाग तानिएसँगै त्यहाँ अहिले अर्का भन्सार अधिकृत बुद्धिकुमार चुडालले एकलौटी गर्न थालेको पाइएको छ । । चुडालले अहिले प्रमुख भन्सार अधिकृतसँगको मिलोमतोमा एमाले निकटका ब्यापारीलाई च्यापेर अरुलाई अनावश्यक दु:ख दिइरहेको ब्यापारीहरुको आरोप छ ।
यसअघि नेपाली कांग्रेसनिकट कर्मचारी संगठनका जल्दाबल्दा बास्तोला र एमालेका चुडालबीच घोषित रुपमा नै पावर एक्सरसाइज हुँदै आएको थियो । अहिले चुडालले भन्सारमा कांग्रेस,माओवादी निकटका ब्यापारीलाई अनेक बहानामा दु:ख दिने, उनीहरुको सामान सकेसम्म ढिलो चेकजाँच गराउने, भन्सार एजेन्टसँग सोझै ब्यक्तिगत लाभका लागि बार्गेनिङ गर्ने गरेको एक ब्यापारीले बताए । भन्सार प्रज्ञापनपत्रमा क्यारिङ गर्ने फर्मको नाम हेर्ने र सामान कसको हो भन्दै साहुसँग डिल गर्ने गरेको ती ब्यापारीको गुनासो छ । उनी अहिले भन्सारमा काम गर्ने यो मेरो अन्तिम हो भन्दै हिड्न थालेको बताइन्छ । उनले यसरी केहीलाई ‘मिलाउने’र अरुलाई अनेकन दु:ख दिन थालेको भन्दै भन्सार विभाग र अर्थ मन्त्रालयसम्म गुनासो पुगेको स्रोतले उल्लेख गरेको छ ।
अहिले रसुवा भन्सारमा रहेका ६ जना अधिकृतमध्ये उनी सबैभन्दा जुनियर हुन् । उनी ३ वर्षअघि मात्र राजस्व अधिकृतमा बढुवा भएका हुन् । जुनियर भएर के गर्नु उनको आदेशबिना अहिले भन्सार प्रशासन चल्नसक्ने अवस्था नहरेको कर्मचारीबिच नै चर्चाको विषय बनेको छ । पछिल्लो समय अवैध सामान चोरी पैठारी र तस्करीमा नम्बर वान बन्दै गएको यस नाकाबाट ‘सेटिङ’ मिलाएर दैनिक दशौं लाखको राजस्व चुहावट भइरहेको स्रोतको दावी छ ।
झापाली चुडालले गत मंसिरमा अर्थ मन्त्रालयकै विशेष जोडबलमा महेशपुर भन्सार कार्यालयबाट सोझै कमाउ अड्डा रसुवा जम्प गरेका हुन् । विभागका डिजी चुडाललाई रसुवा पठाउन इच्छुक थिएनन् तर मन्त्रालयको अगाडि उनको पनि केही जोर चलेन र कामकाज भनेर पठाउन बाध्य भएको बताइन्छ । उनी आफ्ना सहकर्मीहरुलाई समेत राम्ररी भन्सार बुझेको कर्मचारी म मात्रै हुँ भन्दै हिड्ने गरेको एक कर्मचारीले बताए । भन्सारका चल्चापूर्जा चुडाल महेशपुर जानुअघि बीरगञ्ज भन्सारमा थिए । त्यहाँ पनि उनको बारेमा विभागमा उजुरी परे पनि उनले शक्तिकै आडमा त्यसलाई ढिसमिस बनाएको चर्चा थियो ।
सत्ता र शक्तिलाई आफूअनुकूल प्रयोग गर्न खप्पिस चुडाल पहिला माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध थिए । उनी संगठन प्रयोग गरेर तत्कालीन अर्थमन्त्रीहरु जनार्दन शर्मा र वर्षमान पुनसँग सोझै सम्बन्ध बनाए र आफूले रोजेकै भन्सारमा जान सफल भएका थिए । गत असारमा नयाँ सत्ता समीकरण बनेसँगै उनी खाँटी एमाले भन्दै हिड्न थाले । त्यसलगत्तै उनी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध भए र संगठनका अध्यक्ष लेखनाथ कोइरालामार्फत अर्थमन्त्रीसँग पहुँच बनाउन सफल भएका थिए । यस विषयमा उनीसँग बुझ्दा यस्तो आरोपबारे आफूलाई केही थाहा नभएको र आफूले सबै काम नियमानुसार नै गरेको बताए ।