काठमाडौं । मुख्यसचिव लगायतका उच्च पदस्थ कर्मचारीहरु प्रस्तावित संघीय निजामती विधेयकमा राखिएको २ वर्ष ‘कुलिङ पिरियड’ लाई हटाउन पूरै कसरत लगाइरहेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट यही जेठ २ गते पारित संघीय निजामती विधेयकमा निजामती कर्मचारी वा अरू सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्त हुन नपाउने प्रावधान राखिएपछि उनीहरू छटपटाएका हुन् ।
उनीहरूले बिहीबार सभामुख देवराज घिमिरेलाई भेटेर विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न दबाब दिएका हुन् ।
उनीहरुले यसअघि नै प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई भेटेरै यस्तो प्रावधान नराख्न दबाव दिइसकेका छन् ।
यसैबीच समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ सर्वसम्मत रुपमा पारित भएकाले यो विषय संशोधन गर्न नसकिने बताएका छन् ।


